Han River Sunset, Yeuido: आफू हुनुको आभाष !
Han River Sunset, Yeuido
*
अन्त अन्तिम, चिसो मौसमको न्यानो अभिवादन !
अप्रिल महिनाको पहिलो साता, लाग्छ गत वर्ष यो बेला म टि-सर्ट ला एर बाहिर हिंडेको हुँदो हुँ ! त्यहि सम्झेर पनि सर्ट लाएँ। बाहिर अलि मधूरो देखे पछि त्यसमाथि एउटा स्वेअटर थपें। र सूरु भो मेरो यउइदो यात्रा।
म बसेको ठाउँबाट २५ मिनट बस अनि ट्रेनमा करिब १ घण्टा गए पछि पुगिन्छ भन्ने कुरा ‘काक़ाओ’नामको एप्ले देखायो। स्टेशनमा पुगे। अघि देखि उडाउला झैँ गरिराको हावाले छातीको कुना-कुनामा छापा हान्दैथ्यो। बस चढें र नरम भए।
हावाको वेगले मलाई त्यतिबेला झपार्यो जब ट्रेन स्टेशनमा ५ मिनट अरु ट्रेन कुर्नु पर्ने भो। मेरो नाक बज्न थाल्यो। रुमाल थिएन, नाक छोए पछि पुछ्ने ठाउँ पनि। अनि आफै सोच्नुस, हो त्यहि गरे :D
वसन्त ऋतुको आगमन भैसकेको भए पनि चिसो घटेको रहेनछ। तर पनि म यो चिसोमा यउइदो हन्निनुको कारण रहेको करिव १८०० भन्दा बढी चेरी (벗꽃) फूल्दाको दृश्य, अनि तय हुने फूल फेस्टिवलको मजा लिँदै फोटो लिनु हो। त्यसैले त्यसको तयारीका लागि पनि न्यानो बन्नु पर्थ्यो मैले। वीच झरें अनि एउटा जम्पर लिएँ।
**
प्रकाश भाईले नेटमा पठाएको फोटो अनुसार ५ न. गेटमा निस्किए कुन दिशामा जाँदा फूल फूल्या ठाउँमा पुगिन्छ ठम्याउन गारो पर्यो। अनि धेरै हूल कोरियनहरु गएको पट्टि पछि लागें। केहि समय मै कोरियाको एसेम्लिहल देखियो, अनि चेरी फूलेको बगैंचा पनि। मन उल्लास भो। पश्चिममा घाम अस्ताउदै थियो।
सन्तोश भाई र प्रकाश भाईलाई आउन समय लाग्ने खबर पाए पछि म एक्लै चेरी फूलको लाईनमा तान्निदै फूल हेर्दै ‘सेल्फ़ी’ लिने स्वदेशी अनि विदेशी पर्यटकहरु माझ केहि बेर मै हराएँ।

***
हान नदीको किनारै किनार चेरी फूलको स्वाद चाखिसके पछि मलाई सिधै तान्यो पश्चिममा अस्ताई सक्न आँटेको घामले। हान नदी किनारमा कोरियन सरकारले ठूलो पार्कहरु बनाएको छ। फूलबारी, साना खेल मैदान, मानिस हिड्ने बाटो अनि साईकल रुटको फेरो छ। लगत्तै खोला किनार। पानी छल्कि रहेको किनार सम्म पुगें।, ट्राइपोड निकाले। , क्यामेरालाई १३५ mm को लेन्स फिट गरेर सेट गरें।
थाहा छैन यो पलको कसरि बयान गरूँ म? यति शुन्दर प्रकृति कसरि हुन सक्छे? लाग्छ पश्चिममा डुब्दै गरेको घामले होलि खेल्दैछ, या त सुवर्ण त्यो रंगले जीवनका ठूला रात अघि वा चर्का दिन वीचको विलाशितालाई देखाई रहेछ। उसो त यो खोलाले पनि कुनै संगीत गाईरहेको हुँदो हो। एकनास, किनारमा ठोकिएको पानीको छालहरुको तालमा !
कम्पोजिशन मिलाएँ। जहाँ, वीचमा यउइदोलाई योंग्सान तीर जोड्ने पुलले सुनौलो आकाश अनि शीतल हानखोलाको पानीलाई सिउने काम गर्यो। र १ .३ सेकेन्डको सटर स्पीडमा पुल माथि चलाएमान बनेको ट्रेनले फोटोमा सजीवता थप्यो। र बन्यो यो तस्विर :

5D III 135mm 1.3sec f11 ISO 200
अन्तमा, जीवनका कुनै कुरा पनि निश्चित छैनन्। हरेक कुरा परिवर्तनशील छ। था छैन मैले जीवन जीउन जानेको छु वा छैन तर मैले जे गरिरहेको छु एकदम खुशी छु। मानिस आफै प्रकृतिको अभिन्न अंग हो। हो त्यसैले पनि लाग्छ यी र यस्ता तस्विरहरुमा म आफूलाई पाउँछु। आफू, आफू हुनुको आभाष पाउँछु।
#hanriver #한강 #yeuidobridge #sunset #seoul #travel
Comments
Post a Comment